काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्नु सवैको साझा कर्तव्य भएको बताएको छ ।
पार्टी महासचिव शंकर पोखरेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै संसदीय विशेष समितिले बनाएको प्रतिवेदनको आधारमा किटान गरिएका व्यक्तिहरूलाई अनुसन्धान, अभियोजन र न्यायिक प्रकृयालाई सहयोग गर्नुपर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका संस्था र व्यक्तिहरूबाट भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘फौजदारी मुदको अनुसन्धान, अभियोजन र प्रतिरक्षालाई स्वतन्त्र भयरहित र वैज्ञानिक बनाइ फोजदारी न्याय प्रणालीको प्रभावकारिता बनाउनु सबैको साझा दायित्व हो,’ महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाका नेता कार्यकर्ताहरूले पोखरामा लगातार विरोध प्रर्दशनमा गरिरहेका छन् ।
अनुसन्धानलाई नै प्रभावित पार्ने गरी भइरहेको प्रदर्शनलाई गैरकानुनी भन्दै एमालेले भनेको छ, ‘राष्ट्रसेवकलाई कानुनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँच जना भन्दा बढिको भेला गर्नु गराउनु आफैँमा कसुर हो । यस्तो कसुरमा संघीय संसदको सदस्य उपस्थिती हुन र यस्तो कसुर गर्न अरूलाई उक्साउनु पूर्णत गैरकानुनी कार्य हो ।’
रविको पक्राउबारे सरकार र नेतृत्वलाई जोडेर चर्चा गर्नु अनुपयुक्त भएको भन्दै एमालेले सरकारका अख्तियारप्राप्त निकायबाट भइरहेको अनुसन्धान र अभियोजनको प्रक्रियामा बाधा पुर्याउने कुनै पनि प्रकारका गतिविधि नगर्न ध्यानाकर्षण समेत गराएको छ ।
सरकारलाई समेत त्यस प्रकारका गतिविधि नियन्त्रण गर्न स्वच्छ र निष्पक्ष न्यायिक निरुपणको वातावरण तयार गर्न अनुरोध गरेको छ ।