काठमाडौं । सभामुख देवराज घिमिरेले ६ वटा संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरुसँग आज संयुक्त छलफल गर्ने भएका छन् ।
संसदको आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिने उद्देश्यले सभामुख घिमिरेले समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकहरुलाई छलफलका लागि आज साढे ११ बजे बोलाएको सभामुखको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरेले विधेयकहरु दफावार छलफलमा रहेका राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति र अर्थ समितिका सभापतिहरुलाई छलफलमा बोलाएका हुन् ।
त्यस्तै सभामुखले नेकपा एमालेका मुख्य सचेतक महेश कुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोलाएका छन् ।