जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको आरोप लगाएका छन् । उनले अब सरकार गठन भएको सय दिन पूरा भएपछि बिरोधका कार्यक्रम सुरु गर्ने बताएका छन् ।
प्रेस सेन्टर जुम्लाले आज सिंजा कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो नेतृत्वको सरकारले देशभित्र भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा तथा अन्तर्राष्ट्रियरुपमा नेपालमा प्रतिष्ठा अभिवृद्धि गर्न पहलकदी लिइरहेको बेला संसदका पहिलो र दोस्रो दलले अस्वभाविक र अप्राकृतिकरुपमा आफूलाई हटाएको आरोप दोहोर्याएका छन् ।
उनले आफूले सरकारको नेतृत्व गरेको बेलामा देशभित्र जनताको आशा जगाउँदै विश्व समुदायमाझ पनि नेपालको प्रतिष्ठा प्रवर्धनलाई अघि बढाएको दावी पनि गरेका छन् ।
अध्यक्ष प्रचण्डले आफूले सरकार गठन भएदेखि नै यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो भन्दै आएको र अहिले त्यो आरोप प्रधानमन्त्री स्वयंले पुष्टि गरेको बताए ।
अध्यक्ष प्रचण्डले भने– ‘मेरो नेतृत्वको सरकारले जसलाई राज्यको जमीन जबरजस्ती व्यक्तिमा नाममा लैजाने जस्तो ठगी गरेको कारण गिरफ्तार गरेको थियो र अदालतमा मुद्दा पनि चलिहरकेो छ, तिनै व्यवसायीबाट जग्गा दान लिने जस्तो कार्य गरेर प्रधानमन्त्री आफैले यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन् ।’