काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त अधिराज्य बेलायतमा यस वर्ष सञ्चालन भएको ‘अभ्यास क्याम्ब्रियन गस्ती’का स्वर्ण पदक विजेता नेपाली सेनाका टोलीलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरेका छन् ।
अन्तर्राष्ट्रिय स्तरको सैनिक प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याई नेपाल र नेपाली सेनाको छवि एवं गौरव बढाउन पुर्याएको योगदानको उच्च मुल्यांकन स्वरूप प्रतियोगितामा सहभागी नौ जना प्रतियोगी र एक जना व्यवस्थापक सहित दश जना सकल दर्जालाई आइतबार जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच प्रधानसेनापति प्रशंसा निशानद्वारा सम्मान गरिएको हो ।
गत आश्विन १८ गतेबाट आश्विन २७ गतेसम्म मित्रराष्ट्र बेलायतको वेल्स, ब्रेकनमा सञ्चालित उक्त अभ्यासमा ३७ राष्ट्रका १२१ वटा टोलीहरूको सहभागिता रहेको थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको ‘कम्ब्रियन गस्ती अभ्यास’ मा नेपाली सेनाले सन् २०१४ बाट भाग लिँदै आइरहेको छ । उक्त प्रतियोगितामा नेपाली सेनाले सन् २०१७, २०१९ र २०२४ समेत ३ पटक स्वर्ण पदक प्राप्त गरेको छ ।
कार्यक्रममा नेपाली सेनाका रथी वृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो ।