पोखरा । रास्वपाले निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीसँग धकेलाधकेल भइरहेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शहीदचोक आसपासका क्षेत्र पूर्वतर्फ वाई चोक (उत्तरपूर्वतर्फ मिलनचोक), पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय कास्की र दक्षिणमा मुस्ताङ चोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाईड) मा निषेधाज्ञा जारी गरेको छ ।
रास्वपाका नेता–कार्यकर्ता र सहकारी पीडितहरु प्रदर्शनमा उत्रिने भएपछि सुरक्षा संवेदनशीलतालाई ध्यान दिन निषेधित क्षेत्र तोक्नु परेको बताइएको छ ।
रास्वपाका नेता कार्यकर्ताले सभापति रवि लामिछाने पक्राउको विरोधमा निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको र उनीहरुलाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भइरहेको हो ।
निषेधित क्षेत्रबाट रास्वपा नेता कार्यकर्तालाई हटाउन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सहकारी पीडित र रास्वपाका नेता कार्यकर्ताहरुलाई अनुसन्धानमा सघाउन आग्रह गरेका छन् ।