काठमाडौं । सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा पेस गरिँदैछ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरेर लामिछानेलाई सडकमार्ग हुँदै शनिबार बिहान ३ बजे पोखरा पु-याइएको थियो । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो ।
शनिबार अदालत बन्द भएकाले उनलाई आज अदालतमा पेस गर्न लागिएको हो । लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा माग गर्ने प्रहरीको तयारी छ ।
पोखराको सूर्यदर्शनसहित सहकारीको साढे ६५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगेको आरोपमा गोर्खा मिडियाका पूर्वप्रबन्धनिर्देशक लामिछानेलाई पक्राउ गरिएको हो ।