काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय भवन निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले आफ्नै इच्छाले जग्गा दान दिएको र पार्टीले ग्रहण गरेको प्रष्टीकरण दिएको छ।
भाटभटेनीका सञ्चालक व्यवसायी गुरुङले एमाले पार्टी मुख्यालय निर्माणका लागि कीर्तिपुरमा दान गरेको १० रोपनी १४ आना जग्गामा भवन निर्माणका लागि शिलान्यास भएपछि पार्टीभित्र र बाहिरबाट केही व्यक्तिहरुले आलोचना गरेपछि एमालेले प्रष्टीकरण दिएको हो ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमालेको केन्द्रीय कार्यालय भवन निर्माणको लागि दिएको दान र ग्रहण गरेको विषयलाई लिएर पार्टी भित्र र बाहिर अनेकखालका भ्रम, अफवाह फैलाउने, गलत सूचना प्रवाह गरी सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई दुरुपयोग गरी पार्टी र नेतृत्वका विरुद्ध विष वमन गर्ने काम गलत भएको बताएका छन् ।
गौतमले भनेका छन्, ‘तथ्य के हो, एकजना दानवीर मीनबहादुर गुरुङ र सावित्री गुरुङले बाढी, लेदोले क्षतविक्षत भएको नेकपा (एमाले)को केन्द्रीय कार्यालयको दुरावस्थादेखि नयाँ कार्यालय भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा प्रदान गर्नु भएको हो । यसमा कुनै किसिमको लेनादेना छैन, स्वेच्छाले जग्गा दान गर्नुभयो, एमालेले ग्रहण गर्यो । तथ्य नबुझी बदनाम नगरौँ ।’
पार्टी केन्द्रीय सचिवालयको निर्णयका आधारमा जग्गा लिने, भवन निर्माण गर्ने गरी भवनको शिलान्यास गरिएको स्पष्ट पार्दै उनले भनेका छन्, “यसमा पार्टी सदस्य र मतदाताहरूको अपमान हुने पार्टीले त्यस्तो के काम गर्यो । सस्तो लोकप्रियताका लागि, मिडिया कन्जम्सन, पब्लिक कन्जम्सनका लागि फगत पेपर वार नगरौँ, सोसल मिडियाको दुरुपयोग नगरौँ ।”