काठमाडौँ । सरकारले आरोहणका लागि थप ५७ वटा हिमाल खुला गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पर्यटन प्रवद्र्धनका लागि सरकारले थप ५७ वटा हिमाल आरोहणका लागि खुला गरेको बताएका छन् ।
यस्तै सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत आयोजना तथा निकायका लागि कुल २ सय ६६ राजपत्राङ्कित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री गुरुङले जानकारी दिएका छन् ।
मन्त्रिपरिषद् बैठकले दूरसञ्चार दशौँ संशोधन नियमावली २०८१ , शेयर तथा ऋण लगानी नीति २०८१ र बीउ बिजन नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले हुलाक सेवा विभाग र अन्तर्गतका निकायहरूको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, इजिप्टको कायरोमा हुने वल्ड उर्वन फोरममा सहभागी हुन उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्रीलाई स्वीकृति प्रदान गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।
त्यस्तै सरकारले पूर्व सचिव रामेश्वर खनालको संयोजकत्वमा आर्थिक सुधार सुझाव आयोग गठन गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारको लागि रायसहितको प्रतिवेदन पेश गर्नका लागि खनालको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।
आयोगका सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा। प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा. रामप्रसाद ज्ञवाली, डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल रहेका छन् ।