काठमाडौँ । वाढी, पहिरोले अवरुद्ध बीपी राजमार्गमा एक साता भित्रमा सवारी साधन चलाउने व्यवस्था गरिने गृहमन्त्री रमेश लेखक बताएका छन् ।
बाढी, पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा आज बिहान सिन्धुलीको खुर्कोटमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले अतिभारी बर्षाका कारण आएको विपद्बाट सबैभन्दा बढी क्षति भएको बीपी राजमार्ग अस्थायी रुपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेना लागि रहेको बताएका छन ।
अवरुद्ध भित्रि सडक सञ्चालनदेखि पुल निर्माणसम्म सेनाको धेरै ठुलो भूमिका देखिएको बताउँदै गृहमन्त्री लेखकले बीपी राजमार्गमा धेरै क्षति भए पनि एक हप्ताभित्र डाइभर्सनसहित सवारी चलाउने व्यवस्था मिलाइने बताएका छन् ।
विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागि परेको बताउँदै गृहमन्त्री लेखकले जतिसक्दो चाँडो यो समस्याबाट पार पाउन सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
तीन तहकै सरकार, सबै राजनीतिक दल, गैरसरकारी संस्था सबै मिलेर विपद्पछिको समस्या समाधान गर्नुपर्ने बताउँदै मन्त्री लेखकले पालिकाहरूलाई तत्काल लाभग्राही विवरण पठाउन आग्रह समेत गरेका छन् ।
सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरका बाढी/पहिरो प्रभावित क्षेत्रमा गृहमन्त्री लेखकसंगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राइ र प्रधानसेनापति अशोकराज सिग्देल सहितको टोलीले अनुगमन गरिरहेको छ।