काभ्रे । बाढीपहिरोका कारण वीपी राजमार्गमा फसेका ५०० वटा भन्दा बढी सवारी साधानलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाउन शुरु गरिएको छ । जसमध्ये १३ वटा काठमाडौं पुगेका छन् ।
भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक शनिबारदेखि खुलेको छ । बाटो खुलेसँगै यातायातका साधन पनि सञ्चालन हुन थालेका हुन्।
यात्रुवाहक बसलाई पनि सञ्चालन गर्न दिइएको तेमाल गाउँपालिका अध्यक्ष दलमान थोकरले बताएका छन् ।
तेमाल गाउँपालिकाको सक्रियतामा मेच्छेपौवाबाट मैनाजाङ–सिन्दुरेटार–मुक्पाटार हुँदै सुनकोशी पुल भएर रामेछापको सुनापति गाउँपालिकाको मध्यपहाडी लोकमार्ग जोड्ने सडक पनि खुलेको उनले बताएका छन् ।
उक्त सडकमा हाललाई हलुका सवारीसाधन मात्र सञ्चालन गर्न अनुमति स्थानीय प्रशासनले दिएको छ।
बीपी राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यसम्म पुर्याउने प्रयास भइरहेको मंगलटारस्थित इलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण गिरीले जानकारी दिएका छन् ।
बीपी राजमार्गमा फसेका सवारीसाधनमध्ये १३ वटा वैकल्पिक बाटोबाट काठमाडौँ पुगेका छन् । राजमार्गको रोसी गाउँपालिका–११ डम्फुपार्क तथा वडा नं ९ मंगलटारमा अलपत्र पाँच सयभन्दा बढी सवारीसाधनलाई आजदेखि वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ पठाइने जानकारी पनि उनले दिएका छन् ।