काठमाडौं । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले तीनवटा बस पुर्दा ज्यान गुमाएका ३५ जना यात्रुको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवम् इन्सपेक्टर प्रल्हाद सिलवालका अनुसार बिहीबारसम्म निकालिएका ३५ यात्रुको सनाखत भएको हो ।
निकालिएका सबै शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको उनले बताए । धादिङ प्रहरीले यसअघि नै आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्रसहित सम्पर्क गरिदिन भनेको थियो ।
झ्याप्ले खोलामा गएको पहिरोमा बुटवलबाट आएको विंगर, गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रो बस परेको पुष्टि भइसकेको छ । दुई दिन खोज स्थगित गरेपछि गत शुक्रबार हराएकामध्ये केही यात्रु नभेटिएपछि प्रहरीले फेरि खोजी थालेको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा तीनवटा बसका ३५ यात्रुको शव निकालिएको हो ।
मृतकहरुमा रुपन्देहीको बुटवल उपमहानगरपालिका– १६ का प्रकाश कुँवर, अनुप ठकुरी कुँवर र सृजना कुँवर, रुपन्देहीको देवदह नगरपालिका ४ का रमेश प्रसाद लुइँटेल, अर्घाखाँचीको शितगंगा नगरपालिका ७ का प्र. ज. बोमबहादुर खाम्चा, चितवनको रत्ननगर नगरपालिका १२ का सुमन बजगाईं, स्याङ्जाको गल्याङ नगरपालिका ३ का सिता भट्टराई, दिपिका भट्टराई र दिपेश भट्टराई, गुल्मीको गुल्मीदरबार गाउँपालिका ७ का जुद्धबहादुर रायमाझी, प्रमिता भुसाल र कृशव रायमाझी रहेका छन् ।
त्यस्तै नुवाकोट, सामरीका साइमन तामाङ, पर्वतको कुस्मा नगरपालिका २ की पुष्पा शर्मा, गोरखाको बारपाक सुलिकोट ७ का नवराज पन्त, रुकुमपश्चिमको मुसिकोट १५ का तेजबहादुर विष्ट, गोरखाको गण्डकी गाउँपालिका ४ का नवराज तिवारी, बझाङ, जयपृथ्वी नगरपालिका १ को नविन सिंह, चितवनको भरतपुर नगरपालिका २१ की अनिता थापामगर, मकवानपुरको मनहरी ९ का सन्तु विक रहेका छन् ।
त्यसैगरी काठमाडौं महानगरपालिका १६ काठमाडौं १६ का आनन्द रायमाझी, चितवनको खैरहनी नगरपालिका ३ का सिद्धार्थ गुरुङ, तनहुँको भानु नगरपालिका ३ का जनक कुँवर, चितवनको भरतपुर महानगरपालिका ९ का मोहन दास आचार्य, काठमाडौंको चन्द्रागिरि नगरपालिका १ का नरेन्द्र खत्री, गोरखाको भिमसेन गाउँपालिका ४ का मदन परियार दमै र विनायक भट्टराई, गोरखाको धार्चे गाउँपालिका ७ का सुके दमै, बडिगाड गाउँपालिका २ का इन्द्रजित राना र भिम कुमार राना रहेका छन् ।
त्यसैगरी जुम्लाको सिंजा गाउँपालिका ६ का हरिबहादुर बुढा, धादिङको ज्वालामुखी गाउँपालिका २ की लिलामाया तामाङ, सर्लाहीको चक्रघट्ट गाउँपालिका ६ का बसन्त शाह, सप्तरीको सप्तकोशी नगरपालिका ७ को नन्दप्रसाद किशोर चौधरी र तनहुँको ब्यास नगरपालिका ५ का लेखनाथ ओझा रहेका छन् ।