काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले विभागीय प्रमुख र पृतनापतिसहितका सबै तहका कमाण्डरलाई उच्चस्तरीय तयारीकासाथ कार्यक्षमताको विकास गर्न निर्देशन दिएका छन् । पृतनापति समन्वयात्मक बैठक समापनका अवसरमा सम्वोधन गर्दै प्रधानसेनापति सिग्देलले सकलदर्जामा सामूहिक भावना र एकढिक्कापन अभिवृद्धि गर्न जोड दिएका छन् ।
दुई दिनसम्म चलेको बैठकमा पृतनापतिहरूले आआफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यको समीक्षा एवं सुझाव प्रस्तुत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
बैठकमा वर्तमान सुरक्षा परिस्थितिको विश्लेषण, कार्य सञ्चालन अवस्था, नेपाली सेनाको भिजन–२०३० कार्यान्वयनको अवस्था, सञ्चालित तालिमको प्रभावकारितालगायत विषयमा छलफल भएको पनि निर्देशनालयले जनाएको छ ।
सेनाले वर्षको दुई पटक पृतनापति समन्वयात्मक बैठक सञ्चालन गर्दै आएको छ । यस वर्षको पहिलो बैठकको समापनका अवसरमा नेपाली सेनाका विभागीय प्रमुखहरू, पृतनापतिहरू, निर्देशक एवं वाहिनीपतिहरु लगायत अधिकृतहरुको उपस्थिति थियो ।