आजभोलि पुस्तान्तरणको चर्चा हुनेगरेको छ
नेता, कार्यकर्ता र
आम मानिसका बिचमा पनि
कहिले चिया पसल
कुनैबेला चौतारी
घरी सामाजिक मिडियाहरुमा
परिवर्तनको परामर्श हुने गरेको छ ।
अहिले आम मान्छेहरुमा पुस्तान्तरणको बारेमा व्यापक आवृत्ति हुने गरेको छ । कोहि, युवा चाहिन्छ भनिरहेका छन् त कोही प्रतिउत्तरमा युवा नभएर आम मान्छे उर्जा, जोस र जाँगर चाहन्छन् भनेर तर्क गर्छन् । कोहि विश्वविद्यालयको प्रमाणपत्र हो आजको आवश्यक्ता भनिरहेका छन् त कोही दुई चार जनाको समुहमा पाखुराको प्रदर्शनी गरेर आजको आवश्यक्ता आफु भएको आशय व्यक्त गरिरहेका छन् । कोही आफुसंग लामो अनुभव र पुरानो पार्टी सदस्यता रहेको भनेर दावी गरिरहेका छन् । तर नयाँ पुस्ताको असन्तुष्टि उस्तै छ र परिवर्तन भईरहेको सत्ता एवम् नेतृत्वबाट पनि जनताका आशाको दियो बलेका छैनन् । वास्तवमा किन यसो हुँदै छ त ? यसको निवारण छ कि छैन ? यी र यस्तै प्रश्नहरुको उत्तर मैले यस सामग्रीमा खोज्ने प्रयत्न गरेको छु । मलाई लाग्छ अहिले असन्तुष्टि देखिएको खास गरी सामाजिक सञ्जालमा हो, पुरै गाउँ वस्तीमा होईन । गाउँमा दुःखले बिहान बेलुकीको छाक टार्नेलाई सरकारमा को छन् ? को नेता के भए भन्ने कुराले त्यती अर्थ राख्दैन र उनिहरुलाई त्यसमा रुची पनि छैन । अहिले देखा परेको स्थितिमा सुधार ल्याउन नेतृत्वले कि भने पुस्तान्तरण गर्नुपर्छ, कि भने जेन जीको पुस्ता सुहाउँदो व्यवहार विकास गर्नु अत्याज्य छ ।
को हुन जेन जी ?
हामी अहिले सुचना र प्रविधिको युगमा छौं । सुचना र प्रविधिको विकास संगै विभिन्न सामाजिक बिज्ञान र जनसांख्यिकी अनुसन्धानकर्ता, संस्थान र मिडिया आउटलेट्सद्वारा पुस्ताहरुको बर्गिकरण गरिएको छ । आजकल हाम्रा बिचमा पनि नेता र नेतृत्वको सन्दर्भमा पुस्तान्तरणको चर्चा चल्ने गरेको छ । त्यो भनेको नयाँ पिँढीहरु हाम्रा बिचमा हामीसंगै छन् र ती नयाँ पिँढीको नेतृत्व पुराना पिँढीबाट गर्न सकिदैन भन्ने अर्थ पनि हो । खासगरी दाश्रो विश्व युद्ध पछी पिँढीका सन्दर्भ विकसित भएको पाईन्छ । त्यो समयमा विश्व युद्धको प्रभाव झेलेका र आर्थिक मन्दीलाई प्रत्यक्ष अनुभव गरेका परम्परागत तर जिम्मेवार पिँढीबाट पुस्ताको चर्चा सुरु भएको पाईन्छ । यो पुस्ता १९२८ देखी १९४५ का विचका साईलेण्ट पुस्ता हुन् ।
जेन जी त्यो समय पछी विकसित भएको पाँचौं पुस्ता हो । यसलाई अलि सहज पहिचान गर्दा जेन जी हालको १२ देखी २७ वर्ष उमेर समुहको पुस्ता हो । अर्थात् यस्को जन्म १९९७ बाट २०१३ का बिचमा भएको थियो । यो पुस्ता पूुर्णतया डिजिटल युगमा जन्मिएर हुर्किरहेको र वयस्कको रुप धारण गरिरहेको छ । यस पछि छैंठौं पुस्ताका रुपमा ए आईमा आधारित पुस्ताको विकसित हुने पनि प्रक्षपण भई सकेको छ । जेन जीहरु स्मार्टफोन, सोशल मिडिया, एप, वेवसाईट र अन्य प्रविधिहरूसँग जन्मेहुर्केका हुनाले, तिनीहरू प्रायः प्रविधिमा अत्यन्तै सक्षम हुन्छन् । यीनिरु समावेशितालाई महत्व दिन्छन् र जात, लिंग, र यौनिकताको विषयमा खुलेर चर्चा गर्छन् । यो कोभिड १९ द्धारा आकारिएको पुस्ता हो र यहि पुस्तामा वित्तीय ब्यवस्थाको क्रान्तिकारी परिवर्तन हुनेवाला छ ।
संवेदनशील पुस्तामा विकसित चाहना र नेतृत्वः
जेन जी आर्थिक भविश्यको अनिश्चिितता र बढ्दो महंगीसंग जुधिरहेको पुस्ता हो । सामाजिक सञ्जाल र डिजिटल मिडियासंग गहिरो परिचय भएको यस पुस्ता संवेदनशिल छ । यो पुस्ताले सुचना र प्रविधिको अत्याधिक उपयोग गरेको हुनाले यीनिहरुमा डिजिटल प्लेट फर्म मार्फत संवाद गर्नमा रुचि राख्छन् । यीनीहरु व्यक्तिगत सुझाव र आदेश भन्दा पनि विकल्प सहितको प्रस्तावको अपेक्षा गर्दछन् । यीनिहरु वास्तविक सम्बन्धमा रुचि राख्छन् तथा पारदर्शिता चाहन्छन् । तर अर्को तर्फ उनिहरुका पुस्तालाई नेतृत्व गरिरहेको पुस्ता छिटफुट बाहेक प्राय ५० माथिका उमेरका छन् । यो भनेको पहिलो, दोश्रो र तेश्रो पुस्ता अर्थात् साईलेण्ट पुस्ता, बेबी बुमर्श र जेनेरेशन एक्स्का छन् । जब कि जेनेरेसश एक्स्मा आएर मात्रै टेक्नोलोजीको आरम्भ भएको हो । जेनेरेसन एक्स् टेक्नोलोजीको विकास र बद्लिदो पारिवारिक संरचनाको साँक्षी पुस्ता हो । तर नेतृत्मा रहनेहरुले किन सोच्दैनन् ? कि अब हस्तान्तरण गर्ने बेला आईसक्यो भनेर ।
सबैले बुझौं कि यो पिढींलाई २००७, २०४६ र २०६२/०६३ सालको आन्दोलन र त्यो बेलाको तयारी वक्तव्यले नेतृत्व गर्न सकिदैन । तर आजको आम मानिसमा जुन निराशा देखिएको छ, त्यो नेतृत्व दोश्रो पुस्तामा हस्तान्तरणले मात्र पनि हल हुनेवाला देखिदैन । हल त्यति बेला हुन्छ जब, जेन जी सुहाउँदो नेतृत्व शैलीको विकास हुन्छ र तिनीहरुले आफ्नो ठान्न सक्ने नेता, राजनीतिज्ञ तथा राजनीतिक पार्टीले नेतृत्व गर्छन् । जेन जीहरु पनि कुनै अर्को ग्रहको राजनीतिज्ञ वा शासक चाहिरहेको छैनन् । मात्रै भएको के हो भने हाम्रो बिचमा राजनेताहरु छन् तर नेतृत्वमा भएको सहि सत्य विचार तथा कामहरुको नयाँ पुस्तासंग पुग्ने सुचनाको माध्ययम परिवर्तन भएको हो ।
डिजिटल प्लेटफर्मको प्रयोगः
हामिले बुझुनै पर्ने कुरा के छ भने, सामाजिक मिडिया तथा नयाँ प्रविधिहरु जेन जी पुस्तासंगै हुर्किरहेको छ र जेन जी प्रविधिसंग घुलनशिल छन् । जेन जीहरु युट्युब, फेसबुक, टिकटक, एक्स्, मोबाईल, ल्यापटप, सफ्टवेर जस्ता डिजिटल प्लेटफर्महरुमा समय व्यतीत गर्छन् । डिजिटल नेपाल २०२४ का अनुसार नेपालमा १३.५० मिलियन फेसबुक, ३.६० मिलियन इन्स्टाग्राम, ४६६.१ हजार एक्स्का प्रयोगकर्ता छन् । बजार र प्रतिस्पर्धात्मक विष्लेषण गरिरहेको स्टार्ट डट् आईओका अनुसार नेपालमा २.२ मिलियन टिकटकका प्रयोगकर्ता छन् । यो तथ्याङ्क हेर्दा नेपालीहरु धेरै फेसबुक प्रयोग गर्छन् र दोश्रो धेरै टिकटक प्रयोग गर्छन् भन्न सकिन्छ । नेपालमा युट्युबको प्रयोगकर्ता पनि अत्याधिक छन् ।
अब, राजनीति गर्छु भन्ने दल तथा नेतृत्वमा रहेकाहरुले आफ्ना डिजिटल प्लेटफर्महरुलाई नागरिक प्रति उत्तरदायी बनाउदै र सुधार गरिनु आवस्यक छ । कुनै विषयमा वक्तव्य दिनु पुर्व उक्त विषयमा अनुसन्धान नगरी अनुमानको भरमा वा पुराना ज्ञानको आधारमा बक्तव्य दिनु पनि बन्द गरौं । ब्यापार ब्यवसाय, रोजगारी तथा आम्दानीको श्रोत बिनाको समाज सेवा, राजनीति तथा चुरिफुरीको नयाँ पुस्ताहरुले सामाजिक लेखापरिक्षण गरिरहेको छ भन्ने हेक्का राखौं ।
मिस्टर विस्ट २७२ मिलियन फलोअर्स सहित विश्वकै धेरै युट्युबमा सदस्यता भएको च्यानल बन्दा नेपालमा लका गेमिङको ९.०४ मिलियन सदस्य छन् । नेपालमा युट्यवको प्रभाव हेर्ने हो भने बुढा सुब्बा डिजिटलको ७.६३ मिलियन सदस्य रहेको छ र टु बी गेमर्शका ५.५६ मिलियन सदस्य छन् । टिकटकले दुर दराजमा लुकेका प्रतिभाहरुको खोजी गरिरहेको छ । नेपालमा जिएसएम इन्टेलिजेन्सको तथ्यांकले सन् २०२४ को सुरुमा नेपालमा ३७.४७ मिलियन मोबाइलहरु सञ्चालनमा रहेको देखाउँछ ।
नेपालमा लोकप्रीय रहेको डिजिटल प्लेटफर्महरुको प्रयोग गरिरहेका प्रयोगकर्ता हेर्दा (नापोलिअनका अनुसार) टिकटक २५ देखी ३४ बर्षको उमेर समुहले सबै भन्दा धेरै ४७.५ प्रतिशतले प्रयोग गर्छन् । फेसबुक १० देखी २४ उमेर समुहले सबैभन्दा धेरै ३६.६ प्रतिशतले प्रयोग गर्ने गरेका छन् ।
शैली परिवर्तन नगरे भन्न सकिन्नः
वर्तमानमा जेन जीको नेतृत्व गर्ने कुरा चुनौतीपुर्ण छ । किन भने जेन जीहरु धेरै डिजिटल प्लेटफर्ममा आधारित छन् तर नेतृत्व गर्छु भन्नेहरु मञ्चमा २ घण्टा आदर्शको भाषण छाट्छन् र त्यसको कार्यान्वयन तथा परिणाममा न्यून मात्रै ध्यान दिन्छन् ।
यदि जेन जीलाई पनि नेतृत्व गर्छु भन्ने हो भने डिजिटल प्लेटफर्महरुमा उपस्थिती जनाउनु महत्वपुर्ण छ । तर, प्लेटफर्मको उपस्थितीले मात्रै पुग्दैन सामाजिक सञ्जालहरुमा राखिने सामग्रीहरुको गुणस्तरमा ध्यान दिनु, सर्च ईन्जिन अप्टिमाईजेसन, कम्युनिटी निर्माण, डेटा एनालिटिक्स् तथा सामाजिक मिडिया मार्केटिङ जस्ता पक्षमा उचित ध्यान पुर्याउनु आवस्यक छ । नेतृत्व र भाषणको अलावा कम्प्युटरमा काम गर्न, ईन्फोग्राफिक्स, ईन्फोमर्शियल, भिडियो एडिटीङ जस्ता सिपको विकास तथा पारदर्शिता अत्यावस्यक हुन्छ । वर्तमानका नयाँ पुस्ता आवस्यक योजना चाहन्छन् र योजनाको कार्यान्वयन पछी परिणाम चाहन्छन् । उनिहरुमा प्रकृति, पर्यावरण तथा जलवायु परिवर्तन, सफा गाउँ शहरको व्यग्र ईच्छा छ र प्रत्यक विषयमा प्रखर विषय वस्तुको खोज, अध्यन, अनुसन्धान तथा ज्ञान चाहन्छन् ।
जेन जी (१९९७ देखी २०१२) डिजिटल युगमा जन्मिएका युवा हुन् । जो स्मार्ट फोन र सामाजिक मिडिया संगै हुर्किएका हुन् । यो पुस्ताले समावेशितालाई महत्व दिन्छन् र निकै संवेदनशील छ । जाती, लिंग र यौनिकता जस्ता विषयहरूमा खुला चर्चा गर्दछन् । जेन जी कोभिड १९ द्धारा आकारिएको पुस्ता हो । अहिले आर्थिक अनिश्चितता तथा महंगीसँग जुधिरहेका छन् र डिजिटल प्लेटफर्म मार्फत संवाद गर्न रुचाउँछन् । उनीहरू पारदर्शिता र वास्तविक सम्वन्धको खोजीमा छन् । पुराना पुस्तालाई नेतृत्वको सन्दर्भमा जेन जी चुनौती दिन्छन् । तर, जेन जीका चासो र आवश्यकता नयाँ नेतृत्व शैलीको विकासमा छ ।
डिजिटल प्लेटफर्महरूमा जेन जीहरूको प्रभाव उल्लेखनीय छ । नेपालमा फेसबुक, टिकटक, र युट्युबका प्रयोगकर्ताहरूको संख्याले यो प्रमाणित गर्दछ कि यो पुस्ता प्रकृति, जलवायु परिवर्तन र नयाँ योजनाहरूको कार्यान्वयनमा चासो राख्छ । तसर्थ, जेन जीलाई प्रभावकारी नेतृत्व गर्नका लागि उपयुक्त डिजिटल संवाद र कामको कार्यान्वयन तथा परिणामको आवश्यकता छ । अन्यथा यो पुस्तालाई नेतृत्व गर्छु भन्नु मर्खता मात्रै हुन्छ ।
अब, राजनीति गर्छु भन्ने दल तथा नेतृत्वमा रहेकाहरुले आफ्ना डिजिटल प्लेटफर्महरुलाई नागरिक प्रति उत्तरदायी बनाउदै र सुधार गरिनु आवस्यक छ । कुनै विषयमा वक्तव्य दिनु पुर्व उक्त विषयमा अनुसन्धान नगरी अनुमानको भरमा वा पुराना ज्ञानको आधारमा बक्तव्य दिनु पनि बन्द गरौं । ब्यापार ब्यवसाय, रोजगारी तथा आम्दानीको श्रोत बिनाको समाज सेवा, राजनीति तथा चुरिफुरीको नयाँ पुस्ताहरुले सामाजिक लेखापरिक्षण गरिरहेको छ भन्ने हेक्का राखौं ।