काठमाडौं । सहकारीको रकम गोर्खा मिडिया मार्फत अपचलनको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई १० दिन हिरासतमा राख्न प्रहरीले अदालतसँग अनुमति मागेको छ ।
म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराइएको प्रहरीले गोर्खा मिडिया नेटवर्क प्रालिका शेयरधनी रहेका ५९ वर्षीय पूर्वडीआईजी जोशीमाथि तीन वटा कसुरमा अनुसन्धान गर्नुपर्ने माग गरेको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया ल्याएर अपचलन गरेको आरोपमा उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्नुपर्ने माग प्रहरीको छ ।
प्रहरीले माग गरेको उक्त अवधिमा कति दिन दिने भन्ने निर्णय भने अदालतले गर्नेछ ।
सहकारीको वचत अपचलन संसदीय छानबिन विशेष समितिले जोशीलाई कारबाही सिफारिस गरेपछि उनलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेर आइतबार पोखरा पुर्याएको थियो ।
आइतबार प्रतिवेदन कार्यान्वयन गर्न भन्दै गृहमन्त्री रमेश लेखकले प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई निर्देशन दिएका थिए ।