विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् ।
कांग्रेसको प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो । कृष्णप्रसाद सिटौला समूहका राई भौतिक पूर्वाधार मन्त्री बनेका छन् । सिटौला पक्षकै भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।
त्यस्तै खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन् । हाङ्गाम सभापति शेरबहादुर देउवा समूहका हुन् भने मण्डल संस्थापन भित्रकै ज्ञानेन्द्र कार्की निकट मानिन्छन् ।
गत साउन १२ मा नै सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस शेखर कोइराला समूहले २ मन्त्रीको अडान नछोडेपछि विलम्व भएको थियो । अन्ततः कोइराला समूहविना नै कांग्रेस सरकारमा सहभागी भएको हो ।