काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा कार्यालयमा बहाली गरी प्रधान सेनापतिको कार्यभार सम्हालेका छन् ।
राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेल आज विहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रमकाबीच कायममुकायम प्रधान सेनापति रथी अशोकराज सिग्लेललाई महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्दै पद तथा गोपनीयताको शपथ समेत गराउनु भएको थियो ।
मन्त्रीपरिषद् बैठकले सिग्देललाई महारथी दर्जामा बढुवा गरी प्रधान सेनापतिमा नियुक्त गर्न गरेको सिफारिस बमोजिम राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम आज महारथीको दर्ज्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गर्नु भएको थियो ।
सैनिक परम्परा अनुसार नवनियुक्त प्रधान सेनापति महारथी सिग्देललाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । त्यसै गरी उनले सैनिक मञ्च टुँडिखेल र छाउनीस्थित वीर स्मारकमा श्रद्धान्जली अर्पण गरेका छन् ।
वि.सं. २०२३ माघ १९ गते रुपन्देही जिल्लामा जन्मिएका प्रधान सेनापति सिग्देल २०४३ सालमा अधिकृत क्याडेटको रूपमा सैनिक सेवामा प्रवेश गरेका थिए । मिति २०८१ श्रावण २५ गतेबाट उनले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए ।