विराटनगर । शनिबार मृत भेटिएका दुई नाबालिकाकी आमा विर्तामोडमा फेला परेकी छिन् ।
शुक्रबार राति दुई छोरीसहित वेपत्ता भएकी अस्मिता कार्की पाँच दिनपछि विर्तामोडस्थित सडकमा मानसिक रुपमा विक्षिप्ता अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
सडकमा अस्वस्थ अवस्थामा फेला पारेकी उनलाई कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन कार्की इटहरी–भोजपुर ट्याक्सी चलाउँदै आएका छन् । कार्की मोरङ सुन्दरहरैंचामा दिदीको परिवारसहित बसेर नजिकै नयाँ घर बनाउँदै छन् ।
प्रहरीका अनुसार शुक्रबार भोजपुरबाट फर्किंदा अर्जुनले श्रीमती र दुई छोरीका लागि माछा लिएर आएका थिए । तर घरमा आउने बितिकै बन्दै गरेको घरमा पानी नहालेको निहुँमा श्रीमती अस्मितासँग विवाद सुरु भएको थियो ।
आफूसँग विवादपछि अस्मिता दुई छोरीहरू आइका (१) र अर्पणा (३) लाई लिएर त्यही दिन राति करिब ८ बजेतिर डेराबाट निस्किएकी थिइन् ।
शुक्रबार राति अस्मिताले ‘तेरो छोरी मारेर म पनि मर्छु’ भन्दै अर्जुनलाई म्यासेज गरेकी थिइन् । त्यसपछि राति नै खोजी गरे नभेटेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।
शनिबार दिउँसो स्थानीय नारायण न्यौपानेको केराघारीभित्र दुवै बालिकाको शव अंगालो मारेको अवस्थामा भेटिएको थियो । नजिकै विषादीको बट्टा र अस्मिताको मोबाइल फोन पनि भेटिएको थियो । तर, अस्मिता भने भेटिएकी थिइनन् ।
उनले पनि आत्महत्या गरेको आशंकामा प्रहरी र स्थानीयले नजिकैको जंगलमा चारसम्म सर्च गरेका थिए ।