काठमाडौं । तनहुँको ऐनापहरामा भएको बस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आज तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो ।
प्रारम्भिक जानकारी अनुसार बसमा भारतीय पर्यटक रहेको र बसमा अनुमानित ४० जना यात्रु रहेको बताइएको छ । अहिले प्रहरीको उद्धार टोली घटनास्थल पुगेर उद्धार जारी रहेको छ ।
बस दुर्घटनामा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा गएको ४५ जनाको टोलीले उद्दार जारी राखेको छ ।
एसएसपी पौडेलको कमाण्डमा १० जना गोताखोरसहित ४५ जनाको टोली उद्दारमा खटिएको एपीएफले जनाएको छ। साथै मनकामना गण २३ भानु तनहुँबाट ३५ जनाको टोली उद्दारमा खटिएको छ ।
हालसम्म १४ जनाको शव निकालिएको र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । पोखराबाट काठमाडौंको लागि भारतीय पर्यटक बोकेको बस मस्र्याङदीमा खसेको थियो ।