काठमाडौँ । पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै निवासमा ८० वर्षीय रायको हत्या भएको पाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् ।
घटनास्थलमा अहिले प्रदेश प्रहरी कार्यालय जनकपुरबाट मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल र सर्लाहीका एसपी रविन्द्रबहादुर सिंहसहितको प्रहरी टोली पुगेको छ।
घरमा एक्लै सुतेको बेला राति १ बजे धारिलो हतियारले टाउकोमा प्रहार गरी रायको हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
तालिम प्राप्त कुकुरसहितको टोलीले घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।
प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगेको छ ।
३० वर्षअघि राप्रपाबाट तत्कालिन सरकारको भूमिव्यवस्था राज्यमन्त्री भएका थिए राय अहिले पनि राप्रपामै आवद्ध रहेका थिए ।
रायका पत्नी र छोरा–बुहारी काठमाडौँमा बस्ने गरेका स्थानीयले बताएका छन् ।