काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा छाएको निराशा हटाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको बताएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले निराशा चिरेर जनतामा आशा जगाउने सरकार लागिपरेको र त्यसका लागि प्राथमिकता निर्धारण गरिएको जानकारी दिएका छन् ।
“जनतामा उत्साहको सञ्चार गर्न र देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको हो”, प्रधानमन्त्री ओलीले भने । विकास निर्माणको काममा रहेको बेथिति अन्त्य, आर्थिक रुपमा मितव्ययी बन्दै राज्यको तर्फबाट खर्च गर्ने क्षमता वृद्धि तथा जनअपेक्षा अनुसार कानुनमा सुधार गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले आफूले सरकारको कमाण्ड सम्हाल्दै गर्दा देशको अर्थतन्त्र नाजुक भएको तथ्यांक प्रस्तुत गर्दै पछिल्ला केही दिनयता सुधारका संकेत देखिन थालेको जिकिर गरे । त्यसको पुष्टि शेयर बजारको हरियाली देखाएको ओलीको भनाइ थियो ।
ओलीले सदनसमक्ष सरकारका ५ वटा प्राथमिकता अघि सारेका छन् । जसमा थालेको काम सक्ने पहिलो प्राथमिकता रहेको उनले स्पष्ट पारेका छन् । ‘यो सरकार काम भइरहेको छ भन्न होइन थालेको काम सकियो भनेर सुनाउन आतुर छ’, भन्दै ओलीले ४ वटा कामको सूची अघि सारेका छन् ।
प्रधानमन्त्रीले दोस्रो प्राथमिकताका रूपमा आयात प्रतिस्थापन गर्ने र स्वदेशी कच्चा पदार्थमा आधारित उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगको प्रवर्द्धन गर्ने उल्लेख गरेका छन् । सरकारको तेस्रो प्राथमिकताका रूपमा गरिबी, अभाव र भोकमरीको अवस्था अन्त्य गर्ने उल्लेख छ ।
त्यस्तै प्रधानमन्त्रीले चौथो प्राथमिकताका रूपमा राम्रा नीति तथा कार्यक्रमलाई अघि बढाउने भन्दै परिवर्तित अवस्थामा बजेट र नीति तथा कार्यक्रमलाई परिणाम निकाल्ने गरी परिमार्जन गर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले देशभर बाढी–पहिरोलगायत विपद्को चपेटामा परेकालाई उद्धार तथा राहत उपलब्ध गराउने उल्लेख गर्दै विपद्का घटनामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।