विराटनगर । गएराति दुई समूहबीच भएको झडपमा एक युवकको मृत्यु भएको छ भने दुई युवक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको छ ।
प्रहरीका अनुसार मोरङकै कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको हो भने कटहरी–१ कै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय गम्भीर घाइते छन् ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने बस्नेतले खुलाएएको छैन ।
राति एक्कासी सडकमा भेट भएपछि दुई समूहबीच विवाद भएको र सोही क्रममा झगडा भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।
घाइते दुबै युवकलाई विराटनगरमै विराट टिचिङ अस्पतालमा सामान्य उपचार पछि प्रहरीले थप उपचारको लागि विराटनगरकै नोबेल अस्पतालमा लगिएको बताइएको छ ।