गोरखा । अजिरकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधवार भएको गाउँसभाको १५ औँ अधिवेशनमा अध्यक्ष दीपक देवकोटाले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
‘दिगो विकास हाम्रो सोच, सुन्दर शान्त समृद्ध अजिरकोट’ को लक्ष्य हासिल गर्न ‘हाम्रो अजिरकोट राम्रो अजिरकोट’ भन्ने नाराका साथ नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिका अध्यक्ष देवकोटाले तेस्रो कार्यकालका लागि अघिल्ला वर्षका केही योजनालाई समेट्दै केही नयाँ कार्यक्रम ल्याएका छन् ।
विकास निर्माणमा स्थानीय सिप र प्रविधिको प्रयोग गर्दै सार्वजनिक, निजी र सहकारीको साझेदारीको नीति अवलम्बन गर्ने, पर्यटन प्रवद्वधनका लागि संघ, प्रदेश र सम्बद्ध निकायसँगको समन्वय, सहकार्य र सह लगानीलाई प्राथमिकता दिई अजिरकोटलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने नीति छ ।
स्थानीय रैथाने उत्पादनलाई प्राथमिकता दिदैं कृषि बीज भण्डार तथा इलेक्ट्रिक शीत भण्डार स्तरोन्नति गर्ने, बिउमा अनुदान उपलब्ध गराउने, कृषि एम्बुलेन्स सञ्चालन गर्ने, एक वडा एक व्यावसायिक कृषि उत्पादन कार्यक्रम, एक वडा एक नमुना गाउँ, दूध डेरी एवं दुग्ध उत्पादनमा आधारित उद्योग स्थापना गर्ने, बाहिरबाट आयतित फलफूल तरकारीलाई निरुत्साहित गर्दै आवश्यकता अनुसार क्वारेनटाइनकाे नीति अवलम्बन गर्ने, माटो परीक्षण गरि भूगोल सुहाउँदो खेतीपाती तथा भूगोल अनुकूल आहार उत्पादन गर्ने अजिरकाेटकाे नीति छ ।
चिया, कफी, अलैँची खेती प्रवर्धन गर्दै फलफूल र घाँसको स्रोत केन्द्र स्थापना स्थानीय तहमा नै निर्माण गर्ने महत्वकाक्षी योजना अजिरकाेटकाे छ । गत वर्षकै नीति तथा कार्यक्रममा रहेको घर उद्योगका नामा परिचित गर्न खोजिएको कोदाको रक्सी उत्पादन र स्तर निर्धारण गरी ब्राण्डिङ गर्ने अजिरकाेट क्षेत्र कोदोको रक्सी उमेर समूह अनुसार प्रयोगमा प्राथमिकता दिने अजिरकाेटकाे छ । यो कार्यक्रम अघिल्ला वर्षमा पनि आएका कार्यक्रम हो । अन्य बाहिरबाट गएका बाह्य अल्काेहिक पर्दाथबारे छुटै नीति बनाइ व्यवस्थित गर्ने योजना पनि अजिरकाेटकाे छ ।
अजिरकाेटका वडा न ४, २ र ३ वडामा धेरै मात्रामा साथै सिरानचाेक गाउँपालिकाको वडा न ८ र १ का समेत सिजनवल फलका रूपमा रहेको खुर्पानीबाट जुस तथा वाइन उद्योग सञ्चालनको सम्भाव्यता अध्ययनले गरी चर्चा पाएको छ । अजिरकाेटकाे सिरानडाँडा तथा नम्कि क्षेत्रमा चालु आर्थिक वर्षमा खुर्पानीबाट वाइन निर्माण गरिएको थियो ।
वाइन उत्पादन अध्ययन अनुसन्धानका जनजङ्गलमा उत्पादन भई खेर गइरहेका वनजन्य फलफूल पानी अमला, काफल, ऐसेलु, चुत्रोलाई उद्योगसँग जोड्ने अजिरकाेटकाे नयाँ कार्यक्रम हो । पालिकाको उत्पादन पालिकामै, हिमालबाट बगेको शुद्ध खानेपानी बाेटलिङ् गरी राष्ट्रिय एवं अन्ताराष्ट्रिय बजारमा निर्यात गर्न आवश्यक नीति तर्जुमा गर्न अख्तियार गरी संरचना निर्माणको अध्ययन गर्न स्रोत जुटाउने नीति आगामी वर्षमा समेत रहेको छ ।
अजिरकाेटमा २०७९ मा अध्यक्षमा निर्वाचित भएका देवकोटाले लगातार तिन वर्षसम्म यो कार्यक्रम अघि बढाउका छन् । पशु बिमा गर्दा लाग्ने प्रिमियममा ५० प्रतिशत अनुदान दिने, बसाइसराइ रोक्न गाउँ फर्कन प्रेरित गर्न सहुलियत प्रदान गर्ने, सेवा शुल्क निर्धारण गर्दा सामाजिक न्यायका आधारमा गर्ने, डोको, नाङ्लो, मान्द्रो, भकारी, राडी, बक्खु जस्ता स्थानीय कच्चा सामग्रीको प्रयोग गरी उत्पादन हुने स्थानीय बस्तुको उत्पादन, प्रवर्द्धन र बजारीकरण गर्ने, रोजगार सेवा केन्द्रलाई श्रम बैंककाे रूपमा विकास गर्ने, बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाहमा भएको चर्को व्याजका कारण उठिबास हुने कहालीलाग्दो अवस्थालाई अन्त्य गर्न सहुलियतपूर्ण कर्जा प्रवाहको नीतिका लागि बैंक तथा वित्तीय संस्थासंग समन्वय । सहकार्य गर्ने नीति समेत पालिकाले लिएको छ ।
गोठ होमस्टे प्रभावकारी बनाउने, नागेपाेखरी-दुधपाेखरी-नारदपाेखरी पदमार्ग निर्माण सम्पन्न गर्ने तथा थप स्रोतको खोजी गर्ने, बुद्ध हिमालचुली ग्रेट लेक सर्किट निर्माणको सुरुवात गर्ने, नागेपाेखरी डार्कु हाइ अल्टिच्युट साइक्लिङ रुट निर्माणलाई निरन्तरता दिने, वलाङ र खिम्पुमा रहेको टाउट माछा पालनलाई पर्यटनसँग जोड्ने, भच्चेक-दुधपाेखरी र तपी-सिरानखाेला पर्यटन साइनेजको व्यवस्थापन गर्ने, भच्चेक-सिरानडाँडा-ध्याच्चाेक-बारपाक जोड्ने पर्यटन पदमार्ग निर्माण गर्ने, हातिसुढेँ गुफा-चामे छहरा भिरमाैरी पर्यटनको संरक्षण विकास र प्रवर्धनमा आवश्यक योजना निर्माण गर्ने अजिरकाेटकाे नीति रहेको छ।