गुल्मी । गुल्मी सदरमुकाम तम्घास नजिकै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अर्घाखाँचीको छत्रदेव-७ नेटाबाट गुल्मी सदरमुकाम तम्घास देउराली जाँदै गरेको ना८ख ६६४४ नम्बरको टिपर गएराति दुर्घटनामा परेको हो ।
दुर्घटनामा चालक अर्घाखाँचीको सन्धिखर्क-८ का २६ वर्षीय रामलाल पुरीको निधन भएको प्रहरीको भनाइ छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
मंगलबार राति सडकबाट ६० मिटर तल खस्दा तीन जना घाइते भइ उपचारका लागि गुल्मी अस्पतालमा ल्याएकोमा चालक पुरीलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
दुर्घटनामा सन्धिखर्क-८ कै ३३ वर्षीय रिसभ केसी र अर्घाखाँची जिल्ला शीतगंगा नगरपालिका-२ बस्ने २९ वर्षीय नविन घिमिरे घाइते भएका छन् । घाइतेमध्ये रिसभको अवस्था गम्भीर रहेको र दुवै जनालाई थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज पठाइएको छ ।