सुर्खेत । दैलेखको आठबिसबाट अछामको कालेकाडा जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिएको छ ।
आइतबार बिहान १० बजेतिर पुलको लठ्ठा चुँडिदा सामग्री बोकेर हिँडिरहेका १४ वटा खच्चड पुलमै फसेका छन् । अछाम जिल्लाको विनायक नगरपालिका र दैलेख जिल्लाको आठबीस नगरपालिका–४ खिड्कीज्युला नजिक कर्णाली नदीमाथि बनेको झोलुङ्गे पुलमा खच्चरहरू फसेका हुन् ।
अहिले उद्धार कार्य अघि बढाइएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बताएका छन् ।
दैलेखको आठबिसबाट अछामको कालेकाडा जोड्ने पुलको एकातर्फको लठ्ठा कमजोर रहेको र धेरै खच्चडहरू एकैपटक चढ्न थाल्दा लठ्ठा चुँडिएको कोइरालाले बताएका छन् ।
अहिले नजिकका इलाका प्रहरी कार्यालयबाट प्रहरीहरू र स्थानीयहरु घटनास्थलमा पुग्ने क्रम रहेको बताइएको छ ।
अहिले ती खच्चडहरू पुलमै अड्किएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुनिल दाहालका अनुसार, खच्चरहरू पुलमाथि हिँडिरहेको अवस्थामा खच्चरको खुट्टा पुलको जालीमा अड्किएपछि पुल कोल्टिँदा खच्चरहरू पुलमै अलपत्र परेका हुन् ।