काठमाडौं । डेविड मिलरको उत्कृष्ट ब्याटिङमा दक्षिण अफ्रिकाले आईसीसी टी–२० विश्वकप २०२४ मा नेदरल्यान्ड्सलाई ४ विकेटले पराजित भएको छ छ । समूह डी मा रहेको दक्षिण अफ्रिकाको दोस्रो जित हो ।
१०४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । डेविड मिलर ५१ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रनमा नट आउट रहे । ट्रिस्टन स्टब्स ३७ बलमा १ चौका र १ छक्कासहित ३३ रन बनाए ।
सुरुवातमा ३–३ को नाजुक अवस्थामा रहेको दक्षिण अफ्रिकालाई मिलर र स्टब्सले ७४ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । हेनरिक क्लासेन ४, रिजा हेन्ड्रिक्स र मार्को यानसनले ३–३ रन बनाए ।
एडेन माक्ररम र क्विन्टन डि ककले खाता खोल्न सकेनन् । नेदरल्यान्ड्सका भिभियन किंग्मा र लोगन भान बिकले २–२ विकेट लिए । बास डि लिडे १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाउदै १०३ रन बनाएको थियो । साइब्राण्ड एंगलब्रेक्सले ४५ बलमा २ चौका र १ छक्कासहित ४० र लोगन भान बिकले २३ रन बनाए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । (रासस)