काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता जारी गर्ने र प्रतिलिपी दिने तत्कालीन सीडिओ र शाखा अधिकृतलाई पनि अनुसन्धानका लागि पक्राउ गर्ने तयारी भएको छ ।
सिरोहियाको नागरिकता सम्बन्धी थप अनुसन्धानका लागि प्रहरीले उनीहरुलाई पक्राउ गर्ने अनुमति जिल्ला अदालत धनुषाबाट लिएको स्रोतले बताएको छ ।
कैलाशका बाबु घासीराम मारवाडी, दाजुहरुको अंगीकृत नागरिकता पाए पनि उनले भने वंशजको लिएका थिए । सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध प्रहरीले जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी लिएको बताइएको छ ।
०३४ सालमा सिरोहियाले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए ।
सिरोहिया हिरासतमा रहेका बेला अनुसन्धानका लागि प्रतिलिपी जारी गरेका तत्कालीन शाखा अधिकृत दाहाललाई पनि धनुषा प्रहरीले बोलाएका थिए ।
दाहालले दिएको बयान र प्रहरीले गरेको अनुसन्धानबीच तालमेल नदेखिए पछि सिरोहियाको नागरिकताको विषय थप गम्भीर बनेको प्रहरी स्रोतले बताएको छ ।
सिरोहियालाई नागरिकता ऐन २०२० अनुसार वंशजको नागरिकता दिइएको नागरिकतामा उल्लेख छ । तर नागरिकता जारी भएको मितिसम्म उक्त ऐन लागु भएकै थिएन । त्यसैले तत्कालीन शाखा अधिकृत दाहाल अनुसन्धानमा तानिएका एक प्रहरी अधिकारीले बताएका छन् ।
सिरोहिया जनकपुरधाम उपमहानगरपालिका १ का स्थायी बासिन्दा हुन् । घासीरामको नागरिकतामा वडा नम्बर १ उल्लेख भएपनि कैलाशको नागरिकतामा वडा नम्बर ५ छ । वंशज नागरिकता बनाउनकै लागि उनले अर्को वडाबाट सिफारिश गराएको आशंका गरिएको छ ।
नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया ९ दिनपछि जेठ १६ गते हिरासतमुक्त भएका छन् । उनलाई हाजिरी जमानीमा छाडिएको बताइएको छ । सिरोहियाको नागरिकता नम्बर पहिले नागरिकता लिएका व्यक्तिको नम्बरसँग मिलेकोलगायत विभिन्न गडबडी देखिएको भन्दै धनुषा जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेपछि उनलाई यही जेठ ८ गते थापाथलीस्थित कान्तिपुर मुख्यालयबाट प्रहरीले नियन्त्रणमा लिई धनुषा लगेको थियो।




















