काठमाडौं । कान्तिपुर पब्लिकेसन्स प्रा.लि.का अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले सिरोहियाको नाममा पक्राउ पुर्जी जारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियालाई पक्राउ गरी अनुसन्धानका लागि अदालतबाट अनुमति मागेको थियो ।
सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा १६ वैशाख २०८१ मा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप लगाइएको छ ।
सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएका थिए ।
आफूविरुद्ध प्रहरीमा जाहेरी परेपछि सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने कारण माग गरेको थियो ।