विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आव्हान गरिएपछि त्यसकाविरुद्ध मुख्यमन्त्री केदार कार्की अदालत जाने भएका छन् ।
नयाँ सरकार गठन प्रक्रिया रोक्न माग गर्दै मुख्यमन्त्री कार्कीले आजै सर्वोच्चमा रिट दायर गर्न काठमाडौं आइसकेको बताइएको छ ।
आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार आव्हान गर्नु संविधानविपरीत भएको कार्कीको जिकिर छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङ्गले २ दिनको समय सीमा दिएर हिजो राति संविधानको धारा १६८ ९५० अन्तर्गत नयाँ सरकार गठनको आव्हान गरिसकेका छन् । एमाले र माओवादीले हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने मागसहित बहुमत सदस्यको दाबी लिएर आजै प्रदेश प्रमुखकोमा जाने तयारी गरिरहेको छ ।
एमाले–माओवादीले मुख्यमन्त्री कार्कीलाई दिएको विश्वासको मत फिर्ता लिएका थिए । तर कार्कीले आफूलाई पार्टीले नभई सांसदहरुले मत दिएकाले पुनः विश्वासको मत नलिने अडान लिएका थिए । वैशाख २५ गतेसम्म विश्वासको मत लिन संकल्प प्रस्तावमार्फत् प्रदेशसभाले निर्देशनसहित समय सीमा दिएको थियो । उक्त प्रस्तावको पक्षमा ५२ जना सांसद उभिएका थिए । तर, विश्वासको मत नलिने र राजीनामा पनि नदिने अडान नछोडेपछि एमाले– माओवादीले नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।
१६८ (५) अन्तर्गत आफू मुख्यमन्त्री नियुक्त भएकाले एकपटक विश्वासको मत लिएपछि २ वर्षसम्म लिनुनपर्ने जानकारी कार्कीले प्रदेश प्रमुखको कार्यालयलाई गराएका थिए ।
सो पत्र साथै प्रदेशसभामा ५२ सांसदको प्रतिनिधित्व गर्ने दुई दलले नयाँ सरकार गठन गर्न गरेको मागलाई आधार बनाएर प्रदेश प्रमुख खापुङले महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलको राय अनुसार सरकार गठनको आह्वान गरेका हुन् ।