काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन हतार नगर्न प्रदेश सांसदहरुलाई निर्देशन दिएका छन् ।
शनिबार राति प्रमुख सचेतक सुरेन्द्र पाल, पूर्वमुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललगायतसँगको भेटमा अध्यक्ष ओलीले सो निर्देशन दिएको बताइएको छ ।
अध्यक्ष ओलीसँग उनकै निवास बालकोटमा करिब साढे २ घण्टासम्म कुराकानी विश्वासको मत लिन सोडारीले गरेको हतारप्रति चासो राख्दै ओलीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा हतार नगर्न भनेको रावलले बताएका छन् ।
बझाङ उपनिर्वाचनबाट निर्वाचित दमनबहादुर भण्डारीले बुवाको किरियाकर्म सकेर शपथ ग्रहण गरेपछि विश्वासका मतका सम्बन्धमा निर्णय लिइने बताएका छन् ।
६ वैशाख एमालेसहित गठबन्धनमा आवद्व दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका एकीकृत समाजवादीका सोडारीले २१ वैशाखमै विश्वासको मत लिने तयारी गरेका थिए । तर, एमालेले विश्वासको मत दिन नसकिने अडान लिएपछि वैठक नवसी स्थगित भएको थियो । सोडारीले २२ गते विश्वासको मत लिने भनेका थिए । तर एमाले सांसदहरु ओलीलाई भेट्न काठमाडौं आएपछि प्रदेश सभाको बैठक अनिश्चितकाललाई स्थगित गरिएको छ ।
केन्द्रीय सत्ता गठवन्धनमा रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वार्गेनिङ गरिरहेको र जुनसुकै बेला सत्ता गठवन्धनबाट बाहिरन सक्ने आँकलन भइरहेको छ । कांग्रेसले प्रधानमन्त्री बनाइदिने आश्वासन दिएपछि उनी गठवन्धनसँग निहुँ खोजिरहेका छन् । त्यसको असर सुदूरपश्चिममा परेको आँकलन राजनीतिक वृत्तमा भइरहेको छ ।