काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रचण्डमा चरम सत्तामोह देखिएको बताएका छन् ।
१३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा पार्टीले बुधबार काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा भट्टराईले सत्ताका लागि प्रचण्डले जोसुकै संग पनि समिकरण गर्ने र तोड्ने गरेको आरोप समेत लगाए ।
माओवादी आन्दोलनका केही नेताहरुको आग्रहमा प्रचण्डलाई यसअघिको निर्वाचनमा सहयोग गरेको र गोरखाबाट जित हासिल गर्न सफल भएको भन्दै भट्टराईले चूनाव जितेपछि प्रचण्डले खोला तर्यो लौरौ बिस्र्यो जस्तो व्यवहार देखाएको जिकिर गरेका छन् ।
उनले प्रचण्डप्रति आफ्नो विश्वास नरहेपछि माओवादीभित्रका केही व्यक्तिले नयाँ ढंगको आन्दोलनका लागि जानुपर्छ भनेकाले नै साझा चुनाव चिन्ह लिएर निर्वाचन लडेको बताए ।
उनले पार्टीले नयाँबाटो तय गरेको भन्दै देशलाई बिकल्प दिएरै छाड्ने जिकिर गरेका छन् । पुराना शक्तिहरुलाई जतिसुकै दयामाया गरेपनि उनीहरु सच्चिनेवाला नरहेको उनले बताएका छन् ।
देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नभएसम्म देशमा राजनीतिक स्थीरता र सुशासन कायम हुनै नसक्ने उनले बताए । उनले अब पार्टीभित्र कुनै पदाधिकारी नरहेको भन्दै प्रत्यक्ष निर्वाचित पदाधिकारी चयन गर्नेसहितको नयाँ पार्टी अभियानको घोषणा समेत गरेका छन् ।