काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि पद महत्वपूर्ण नभए पनि सत्तासमिकरणमा सम्मानजनक व्यवहार हुनुपर्ने बताएका छन् ।
अखिल नेपाल महिला संघ (समाजवादी), काठमाडौँ जिल्ला कमिटीले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रत्येक पार्टीको आ–आफ्नो मर्यादा, सम्मान, स्वाभिमान र चाहना हुने भएकाले सवैलाई राम्रोसंग सन्तुलन गर्दै अघि बढ्नुपर्ने बताएका हुन ।
उनले आफुहरुले अहिले उचित व्यवस्थापन र सम्मान मात्रै खोजेको धारणा राखेका छन् । समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्छ की भनेर कतिपयलाई पोल्ने गरेको उनले बताए ।
त्यस्तै उनले चार दल सम्मिलित समाजवादी मोर्चा बनेको र जिल्ला तहको कार्यक्रम गर्ने तयारी भएको जानकारी दिदै मोर्चामा आउन चाहनेलाई स्वागत गर्ने र आउन नचाहनेलाई पनि गाली नगर्ने धारणा राखेका छन् ।
उनले मुलुकको राजनीतिलाई सहि दिशामा लैजान गम्भीरतापूर्वक आवश्यक भूमिका निर्वाह गर्ने जिकिर गरेका छन् ।