सिरहा । सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ ।
सिरहा नगरपालिका-१८ रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको छिमेकीले घाँटी थिचेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
उनको हत्या गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका १८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनाका आरोपी सोनावतीका ७२ वर्षीय श्रीमान् धनिकलाल यादव भने फरार छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार गत वैशाख १२ गते बिहान १० बजेतिर घर अगाडि खेलिरहेकै अवस्थाबाट रिया हराएकी थिइन् ।
खोजतलास गर्दै जाने क्रममा १४ गते राति साढे ११ बजेतिर रमेशको घरभन्दा उत्तरपट्टीसँगै रहेको छिमेकी धनिकलाल यादवको घरमा बालिकाको शव फेला परेको थियो ।
छतमाथि जाने भर्याङको चौतरामा रहेको मुसुरको झङ्टाभित्र प्लाष्टिकको बोराभित्र रियाको लास लुकाई छिपाई राखेको अवस्थामा फेला परेको डिएसपी सापकोटाले बताए ।
करिब एक वर्षदेखि रमेश र धनिकलालको परिवारबीच झैझगडा हुँदै आएको प्रहरी अनु्सन्धानले देखाएको छ । सोही विषयमा रिसइबी साधेर धनिकलालको परिवारले रियालाई मार्ने योजना बनाइरहेको प्रहरी अनुसन्धानले देखाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।