धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकता नहुने बताएका छन् ।
आइतबार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै तत्काल वाम एकताको सम्भावना नभएको बताएका हुन् ।
उनले भने- ‘अहिले वामपन्थी एकता होइन, राजनीतिक सत्ता समीकरणका रूपमा मात्र यसलाई हेरिएको छ । राम्रो काम हुँदै गयो, छलफल राम्रो हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्नेहरू एक ठाउँमा हुने सम्भावना पनि बढ्दै जान्छ । त्यस्तो भएन भने अप्ठ्यारो स्थिति पनि हुन सक्छ ।’
प्रधानमन्त्री दाहालले एमाले–माओवादीसहितको समीकरण पूरै अवधि (२०८४सम्म) जाने दावी गरेका छन् ।
आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट परम्पराभन्दा भिन्न ढंगले प्रस्तुत गर्ने जिकिर गर्दै प्रधानमन्त्री दाहालले वैज्ञानिक वस्तुवादी र जनमैत्री बनाउने गरी नीति कार्यक्रम करिब ड्राफ्ट भइसकेको बताएका छन् ।
प्रधानमन्त्री सुदूरपश्चिम विश्वविद्यालयले आज आयोजना गर्ने चौथो दीक्षान्त समारोहका लागि धनगढी पुगेका हुन् ।




















