काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खस्दा पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको छ ।
बाढीले साम्दु र सामागाउँ जोड्ने पुल बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । स्थानीयले ताल फुटेको भनेर खबर गरेपछि सामागाउँ प्रहरी चौकीको टोली ताल रहेको क्षेत्रमा पुगेको थियो । सो टोलीले ताल फुटेको नभई हिमपहिरोका कारण पानी बाहिर आएको जानकारी दिएको छ ।
बाढीले पुर्याएको क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको छ । बाढीले क्षति पुर्याउन सक्ने भन्दै धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ ।