काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुदूरपश्चिमको मुख्यमन्त्री पद आफ्नो पार्टीलाई दिन प्रधानमन्त्री प्रचण्ड सहमत भएको दाबी गरेका छन् ।
मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भएको भेटपछि खनालले सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको समस्याका बारेमा भएको कुराकानीमा प्रधानमन्त्रीले सुरुमा एकीकृत समाजवादीलाई नै मुख्यमन्त्री दिने प्रतिबद्धता जनाएको दावी गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डसँग आउन लागेका केही अप्ठेराहरूलाई फुकाएर सहज ढंगले अघि बढ्ने र अहिलेको गठबन्धनलाई थप बलियो बनाएर जाने समझदारी भएको खनालले बताएका छन् ।
सत्ता गठबन्धनको पूर्वसहमतिअनुसार सुदूरपश्चिमको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई दिइएको थियो । तर नाउपाबाटै दुई जनाले मुख्यमन्त्री पदमा दाबी पेस गरेपछि प्रदेश प्रमुख अलमलमा परेका छन् ।
सत्ता गठबन्धनमै रहेको एकीकृत समाजवादी विपक्षी कांग्रेससँग मिलेर अर्कै गठबन्धन बनाई नाउपाको रेशम पक्षका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीको दावेदार बनाएपछि केन्द्रको सत्ता गठवन्धनमा दरार उत्पन्न भएको छ ।
सत्ता गठबन्धनका तर्फबाट नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । दुई जनाको दावेदारी परेपछि प्रदेश प्रमुखले राजनीतिक र कानूनी परामर्श गरिरहेको बताइएको छ ।