काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको विषयमा सत्ता समीकरणमा असन्तुष्ट रहेको बेला प्रधानमन्त्री प्रचण्डले नेता खनालसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन् ।
एकीकृत समाजवादीले यसअघि सत्ता समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री आफुलाई दिने सहमति भएको भएपनि अहिले नागरिक उन्मुक्ति पार्टी ९नाउपा० लाई दिएको भन्दै असन्तुष्ट रहेको छ ।
सुदूरपश्चिममा एकीकृत समाजवादीले केन्द्रको समीकरणको विपरित कांग्रेससहितको समर्थनमा नाउपाकै रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेपछि सत्ता समीकरण नै तरंगित बनेको छ ।
सत्ता गठवन्धमा मतभेद मात्र होइन, नेकपा एस भित्र पनि चर्को विवाद छ । लामो समयदेखि असन्तुष्ट नेताहरुले पार्टी फुटाउनेसम्मको तयारी गरिरहेको चर्चा पनि चलेको छ । झलनाथ खनालदेखि रामकुमारी झाँक्रीसम्म अध्यक्ष माधव नेपालको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।
नेकपा एमाले फुटाएर नेकपा एस बनाउन माधव नेपाललाई हात समाएर निर्वाचन आयोग पुर्याउने सचिव झाँक्रीले पछिल्ला दिनहरुमा एमाले अध्यक्ष केपी ओलीसँग निकटता बढाएकी छिन् । अध्यक्ष ओलीले सम्मानजनक रुपमा पार्टी एकताको आव्हान गरे नेकपा एसका अधिकांस नेताहरु मिल्न तयार रहेको बताउँदै आएकी छिन् ।
नेकपा एसका सांसदहरु प्रेमकुमार आले, किसान श्रेष्ठ, धनबहादुर बुढा, अमर थापा मिलेर नयाँ दल खोल्ने तयारी गरेका समाचारहरु पनि आइरहेका छन् ।
संसदमा १० जना सांसद रहेको नेकपा एस फुटेमा अध्यक्ष माधव नेपालको पक्षसँग उनी स्वयं र राजेन्द्र पाण्डे, प्रकाश ज्वाला, भानुभक्त जोशी र मेटमणि चौधरी मात्र रहने छन् ।