काठमाडौं । प्राध्यापक एवं प्राज्ञिकहरूले विश्वविद्यालयहरुमा भागबण्डाको संस्कारको अन्त्य र खुला प्रतिस्पर्धाका निम्ति सवै दलहरुले प्रतिबद्धता व्यक्त गर्नुपर्ने सुझाव दिएका छन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवटारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सामूहिक रुपमा आभार प्रकट गर्दै उनीहरुले सबै राजनीतिक दलले एक ठाउँ बसेर भागबण्डाको संस्कारको अन्त्य र खुला प्रतिस्पर्धाका निम्ति प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताएका हुन् ।
खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति गरेसँगै विश्वविद्यालयको प्राज्ञिक छविमा सकारात्मक सन्देश गएको उनीहरुको भनाइ छ ।
सो क्रममा प्रधानमन्त्री प्रचण्डले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र सुधारमा गम्भीर भएको जानकारी दिँदै मेरिटोक्रेसीको अवधारणा थप दृढताका साथ बाँकी ठाउँमा पनि अवलम्बन गरिने बताएका छन् । देशमा सुशासन, विकास र समृद्धिको नयाँ जग बसाल्न सबै क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा जरूरी रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
प्रधानमन्त्रीसंगको भेटपछि प्राज्ञिकहरूको तर्फबाट केदारभक्त माथेमाले विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति हुनु आफैँमा महत्वपूर्ण कुरा रहेको बताएका छन् । उनले विश्वविद्यालयहरुलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन सुझाव दिएको जानकारी दिएका छन् ।
शैक्षिक–प्राज्ञिक संस्थाको स्वायत्ततालाई अक्षुण्ण राख्न कुनै पनि प्रकारका अस्वस्थ, अनावश्यक हस्तक्षेप नगर्ने सङ्कल्प एवं प्रतिबद्धता राजनीतिक दलको तर्फबाट आउनुपर्ने उनले बताए ।