काठमाडौँ । नयाँ वर्षमा अघि थाँती राखेका योजनाहरूलाई कार्यान्वयनमा ल्याई देश निर्माणका गतिविधिहरूमा जुट्न आग्रह गर्नुभएको छ ।
नयाँ वर्ष २०८१ सालको अवसरमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिंदै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिनुभएको छ ।
‘नव वर्षलाई विगतको समीक्षा गर्ने तथा भविष्यमा गरिने कार्यहरूको योजना बनाउने अवसरका रूपमा हामीले स्वागत गर्दै आएका छौं। तसर्थ, नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो। हामीले यस अघि थाँती राखेका योजनाहरूलाई कार्यान्वयनमा ल्याई देश निर्माणका गतिविधिहरूमा जुट्न म सबै दिदीबहिनी तथा दाजुभाइहरूलाई अनुरोध गर्दछु’, राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भन्नुभएको छ ।
देशको अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गर्न आन्तरिक स्रोतलाई सदुपयोग गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मुलुकको समृद्धि र समुन्नतिका लागि स्वदेशी उत्पादनलाई बढावा दिनाका साथै उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेतर्फ अबका हाम्रा प्रयास केन्द्रित हुनुपर्छ।’
राष्ट्रपति पौडेलले देश निर्माणमा एकजुट हुन आग्रह गर्नुभएको छ । विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सृजना गर्ने नीति कार्यान्वयन गर्नुपर्ने उनले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा‚ स्वास्थ्य, कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोही अनुसारका नीतिहरू अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन म सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथै सम्बद्ध सबैमा आह्वान गर्दछु।’
उहाँले अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गर्न यहाँका आन्तरिक स्रोतहरू मानव संसाधन, उर्वरभूमी, जलसम्पदा, वनजङ्गल र जैविक विविधतालाई सदुपयोग गर्दै विकासको प्रक्रियालाई तीव्र रूपमा अगाडि बढाई दिगो विकासको लक्ष्य हासिल गर्न अग्रसर हुनु सबैको मुख्य दायित्व भएको बताउनुभयो ।
उहाँले विकासविनाको स्वच्छ वातावरण होइन, विकाससहितको विज्ञान र प्रविधिसँगैको स्वच्छ-सफा पृथ्वी बनाउनुपर्ने बताउनुभयो ।