धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई गरेको कारबाही रोकिन नेपाली कांग्रेसले सभामुख भीमबहादुर भण्डारीलाई आग्रह गरेको छ ।
कांग्रेसका सांसद तथा भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले सभामुखलाई भेटेर कारवाही प्रक्रिया अघि नबढाइदिन अनुरोध गरेका हुन् ।
कृषि राज्यमन्त्री समेत रहेकी गिरीलाई नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कारबाही गरेको जानकारी बुधबार सभामुख भण्डारीलाई गराएकी थिइन् ।
पार्टीको निर्देशन उल्लंघन गरेको भन्दै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई कारवाही गरेकी थिइन् ।
नाउपामा संयोजक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ । श्रीमानश्रीमती समेत रहेका रेशम र रन्जिताबीचको द्वन्द्वको शिकार केन्द्रदेखि प्रदेशसम्मका सांसदहरु भएका छन् ।