काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अध्यागमन विभाग सुधार गर्न आवश्यक भएको बताएका छन् ।
मंगलबार अध्यागमन विभागको निरीक्षणमा गएका लामिछानेले अधिकारीहरूको ब्रिफिङ सुनेपछि अध्यागमनलाई सुधार गर्न निर्देशन पनि दिएका छन् ।
अध्यागमनले वैदेशिक रोजगारीमा जाने र नेपाल आउनेसँग भद्र व्यवहार गर्न उपप्रधान तथा गृहमन्त्री लामिछानेले आग्रह गरेका थिए ।
गृहमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान दिने वैदेशिक रोजगारीमा जाने नेपालीलाई अध्यागमनले सहानुभूतिसहितको व्यवहार गर्नुपर्ने बताएका थिए ।
नेपालको अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनु पर्नेमा लामिछानेले जोड दिएका थिए । उनले अध्यागमनमा खटिने जनशक्तिलाई पर्याप्त तालिमको व्यवस्था गर्नुपर्ने बताए । त्यस्तै, कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन चुनौती भएपनि सुधारको प्रयास जारी राख्नुपर्ने बताए ।
अध्यागनमा केही खराब मान्छेका कारण इमानदार कर्मचारीले पनि दुःख पाउने गरेको लामिछानेको भनाइ थियो ।
अध्यागमन विभाग कालिकास्थान, काठमाडौंमा भएको कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाई र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न कर्मचारीहरूलाई निर्देशन दिएका थिए । विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतिबारे गृहमन्त्री र सचिवालाई जानकारी गराएका थिए ।