काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले फागु पर्व (होली) लाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा कडाइ गर्ने भएको छ । होलीलाई लक्षित गरी काठमाडौंमा तीन हजार सुरक्षाकर्मी खटिने भएका छन् ।
होली पर्वका दिन काठमाडौंमा उच्छृङ्खल गतिविधि गर्ने, लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने, मादक पदार्थ सेवन (मापसे) गरी हो–हल्ला गर्ने, सर्वसाधारणलाई त्रसिद बनाउने लगायत क्रियाकलाप गर्नेलाई कारबाही गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
यस वर्षको होली पर्वका लागि दुई हजार पाँचसय पोसाकधारी र पाँच सय सादा पोसाकका गरी तीन हजारको संख्यामा प्रहरी खटिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । होली खेल्नेहरूको समूह तथा भीडमा सादा पोसाकका प्रहरी ठूलो संख्यामा परिचालन हुने भएकाले कोही कसैले पनि कानुन विपरीतका गतिविधि गरेको पाइए तत्काल पक्राउ गरिने प्रहरी उपरीक्षक अधिकारीले बताए।
अवाञ्छित र उच्छृङ्खल गतिविधि हुन नदिन काठमाडौंमा भोलि बिहानैदेखि चेकजाँचको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, ठूलो आवाज निकाल्ने वा बजाउने, मोटरसाइकलमा तीनजना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गतिलगायत क्रियाकलापमा संलग्नलाई निगरानी गरी कारबाही गरिने प्रउ अधिकारीले जानकारी दिए ।
मापसे र लापसे सेवन गरी सवारी चलाउने चालकलाई कडाइका साथ चेकजाँचको व्यवस्था मिलाएको भन्दै अनुमतिबिना रङ दल्ने, लोला हान्ने, जिस्काउनेलगायत गतिविधि गर्नेलाई समेत कारबाहीको दायरामा ल्याइने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।




















