काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले सबै जातजाति, भाषाभाषी, उत्पीडित, अल्पसंख्यक तथा पिछडिएका वर्गको उत्थान भएमात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा हुने बताउनुभएको छ ।
मुस्लिम आयोगको पाचौं वार्षिकोत्सवलाई सम्बोधन गर्दै बुधवार उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संविधान सभाबाट जनहितकारी समावेशिताको सिद्धान्तमा आधारित लोकतान्त्रिक संविधान ल्याउन हामी सफल भएको उल्लेख गर्दै नेपालको संविधान विश्वका उत्कृष्ट संविधानहरुमध्ये एक रहेको र सबै जाजाति, भाषा, धर्म, समुदाय, वर्ग र क्षेत्रको लागि समान हक तथा अधिकारको व्यवस्था गरेको बताउनु भयो । उहाँले संविधानको व्यावहारिक कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
उहाँले मुस्लिम समुदायको अधिकार प्रवर्द्धन, क्षमता विकास र प्रस्फुटीकरणका कार्यक्रमहरु तर्जुमा गरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन आयोगले आगामी दिनमा थप प्रभावकारी भुमिका खेलनुपर्ने बताउनु भयो । उहाँले समानुपातिक समावेशिताको आधारमा मुस्लिम समुदायलाई संविधानप्रदत्त राजनीतिक, आर्थिक र सामाजिक अधिकार सुनिश्चितताको लागि कानूनी व्यवस्था गर्न आवश्यक रहेको बताउनु भयो । यसका लागि तीन तहको सरकारबाट विशेष नीति तथा कार्यक्रम तर्जमा गरी कार्यान्वयनमा ल्याउनुपर्ने, सबै तह र निकायका सेवा प्रदान गर्ने क्षेत्रमा नेपाली मुस्लिम समुदायको सहभागिताको समान अवसरका लागि उपयुक्त नीति र कानूनी प्रयास गरिनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले नेपाली समाजबाट लोकतन्त्र, सहिष्णुतापूर्ण र सहयोगपूर्ण व्यवहार विश्वले अनुकरण गर्नुपर्ने बताउनु भयो ।




















