काठमाडौं । प्रेम प्रस्ताव अस्वीकार गर्दा सुष्मा लामाको हत्या भएको खुलेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको हो। काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ स्थित तारेभिरकी लामाको तारेभीरकै जंगलमा गाडिएको अवस्थामा शव भेटिएको थियो ।
घटनामा संलग्न रहेको आरोपमा लामाकै छिमेकी २१ वर्षीय रुपेन्द्र लामालाई प्रहरीले पक्राउ गरेको छ । उनले सुष्माको विभत्स हत्या गरेको खुलेको छ ।
पक्राउ परेका लामाले सुष्मालाई एकतर्फी मन पराएको र पटकपटक प्रेम प्रस्ताव गर्दा अस्वीकार गरेपछि हत्या गरेर जंगलमा पुरेको अनुसन्धानबाट खुलेको अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेले जानकारी दिए ।
अपराधपछि घटना लुकाउन प्रविधिको समेत गलत प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिबाट खाल्डो खन्न प्रयोग गरेको कुटो र उनको कोठाबाट मृतकको मोबाइल र किताब कापी पनि बरामद गरेको छ ।
माघ २२ गते कलेजु जान्छु भनी घरबाट निस्किएकी १८ वर्षीया लामा सम्पर्कविहीन भएकी थिइन् । फागुन २५ गते उनको परिवारले हराएको भन्दै खोजि गरिदिन बौद्ध प्रहरीमा उजुरी दिएका थिए। खोजिका क्रममा फागुन २६ गते साँझ प्रहरीले गोकर्णेश्वर नगरपालिका -३ तारेभीरभन्दा माथि शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा गाडिएको अवस्थामा लामाको शव फेला पारेको थियो ।
उपेन्द्रले सुष्मालाई आठ महिनादेखि एकतर्फी मन पराउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।




















