भैरहवा । भैरहवा भन्सार नाकाहुदै विना कागजात भारततर्फ जादै गरेको अवस्थामा ट्रक सहित टुथपेस्ट, पाउडर लगायतको सामान भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।
नेपालबाट बाहिरीने क्रममा युपी ५३ विटी ७८८३ नम्बरको टाटा ट्रकमा उक्त सामान भन्सार नाका अगाडिबाट बरामद भएको हो ।
भैरहवा भन्सार कार्यालय प्रमुख नारद गौतमले खाली ट्रक भनि जाने नाममा सामान लोड गरि लैजादै गरेको अवस्थामा कागजपत्र नभएको ट्रक सहितको सामान नियन्त्रणमा लिएको जानकारी दिए ।
“कागजपत्रविना नेपालबाट भारत जान लागेको सूचना प्राप्त भएपछि ट्रकलाई नाका (भन्सार गेट)बाट नियन्त्रणमा लिइएका छौ । कार्यालयले अनुसन्धान गरिरहेको छ, हामीले भारतीय कस्टमसँग समन्वय गरेर चालक र सहचालक खोज्ने प्रयासमा छौ ।“, आफू काठमाडौं भएकोले आएर मात्रै पुर्ण विवरण दिने उनले भने । उनका अनुसार ट्रकमा भएको सबै सामानको एकिन भएको छैन ।
प्रारम्भिक अनुसन्धानबाट उक्त ट्रकमा डाबरको रेड टुथपेस्ट, क्लोसअप टुथपेस्ट र पोन्डसको पाउडर लगायतको बस्तु रहेको पाएका छौ ।
नेपालबाट बाहिरीने क्रममा भन्सार अगाडिको कर्मचारीले त्यो गाडी चेकजाँचका लागि भनेका थिए । चालकले आनाकानी गर्दा इलाका प्रहरी कार्यालयको सहयोगमा गाडी चेकजाँचका लागि चालकलाई ढाला खोल्न भन्दा चालक र सहचालक फरार भएको थिए ।
स्रोतका अनुसार त्यो गाडी नेपालगंज नाकाबाट नेपाल भित्रीएको थियो, गाडीको स्वरुप नै उचाई ढालाको रहेकोले ढाला भन्दा केही तल सम्म मात्रै उक्त सामान मिलाएर त्रिपालले ढाकिएको अवस्थामा राखिएको थियो ।
भन्सार कार्यालयले यस अघि पुष ६ गते पनि यसै अनुरुपको भारत जान लागेको ट्रकबाट ३ सय ५८ कार्टुन क्लोज अफ टुथपेस्टबरामद गरेको थियो । बरामद समानहरु बहुराष्ट्रिय कम्पनिका नेपालका लागि उत्पादन भएको सामान हो । भारतले यि बस्तुको आयातमा प्रतिबन्ध लगाएको खाली ट्रक चेकजाँच हुदैन भन्ने नाममा नेपालबाट अवैध रुपमा भित्रिने गरेको रहस्य खुलेको छ ।
यस अघिको र अहिले दुवै घटनामा भन्सार प्रमुख बाहिर हुदा यो रहस्य बाहिरीएको छ । चेकजाँचमा खटिएको सोही कर्मचारीले नै यस अघिको ट्रक पनि रोकेर चेकजाँच गरेका थिए । बहुराष्ट्रिय कम्पनिका नेपालका लागि आएको उत्पादनहरु ठूलो मात्रामा केही समय पहिला बेलहिया–गोरखपुर सडकखण्डको कोल्हुईमा पनि बरामद भएको थियो ।
सिमा क्षेत्रबाट नेपालका लागि उत्पादित बहुराष्ट्रिय कम्पनिका उत्पादनहरु अवैध तरिकाले भारत जाने गरेतापनि भन्सार कार्यालय अगाडिबाटै अहिले सम्मकै ठूलो मात्रामा सामान बरामद भएको हो । कसले कहाँ को मार्फत पठाईरहेको थियो भन्ने खुल्न सकेको छैन ।
ट्रकको अगाडि मात्रै एउटा नम्बर प्लेट रहेको छ भने पछाडि कुनै नम्बर प्लेट नरहेकोले ट्रक पनि संकास्पद देखिएको छ । अन्नपूर्ण टर्मिनल्सले यो नम्बरको गाडी यस नाकाबाट प्रवेश नै नगरेको जानकारी दिएको छ । गाडी अन्यत्रबाट आएर भारत जान लागेको हुन सक्ने टर्मिनलले जानकारी दिएको छ ।
भैरहवामा रहेको डिलरले पछिल्लो समय ठूलो मात्रामा कसैलाई सामान विक्री नगरेको दाबी गरेका छन । बरामद सामान ठुलो मात्रामा रहेको र यस क्षेत्रबाट नभई सिमावर्ती जिल्लाका डिलर मार्फत आएको हुनु पर्ने दाबी गरे । चुस्त सुरक्षाको वावजुद पनि ठूलो मात्रामा मुख्य नाकाबाट तस्करी गराउनु विना सेटिङ सम्भव छैन । सुरक्षा निकाय, भन्सार ,निर्यातकर्ता र आयातकर्ताको संलग्नतामा मात्रै कसैले आट गर्न सक्छ ।
चालक र परिचालक फरार नेपालबाट भएपनि सिमामा एसएसबीले कुनै पनि नागरिकलाई परिचय पत्र चेकजाँच नगरी जानपनि दिदैन । भन्सार र सुरक्षा संयन्त्रको उपस्थितीले चासो नदिएको कारणपनि सम्बन्धित व्यक्ति सहजै फरार भएको देखिन्छ ।
भन्सार मुद्धा शाखाले अहिले सम्म कसैले पनि सामान मेरो हो भन्ने दाबी कसैको नआएको बताए । कागजपत्र पनि नरहेको यस्तो घटना यस अघिभएको थियो । त्यो पनि कसैले दाबी नगरेको कारण लिलाम पक्रियामा गएको थियो ।