काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आम उपभोक्ताको सुरक्षामा ध्यान दिन औषधि बिक्रेताहरुलाई आग्रह गरेकी छन् ।
काठमाडौंका धेरैजसो फार्मेसी तथा पोलिक्लिनिकहरुमा म्याद गुज्रिएको औषधि तथा प्रयोगहिन भइसकेका भ्याक्सिनहरु विक्रि गर्ने गरेको पाइएको उल्लेख गर्दै आमउपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने काम नगर्न उनले सचेत पनि गराइन् ।
बिक्रेताहरुले आमउपभोक्ताको विश्वास जित्ने गरी बिक्री वितरणको काम गर्नुपर्ने उनको भनाई थियो । नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमेयर डंगोलले मान्छेको स्वास्थ्यको माथि गम्भिर असर पुग्ने कुरालाई मनन गरेर अघि बढ्न पनि सबै औषधि विक्रेताहरुको ध्यानाकर्षण गराइन् ।
उनले आमउपभोक्ताको विश्वास जित्ने गरी आफ्नो व्यवसायी अघि बढाउन पनि औषधि विक्रेताहरुलाई अनुरोध गरिन् । त्यसका लागि महानगरपालिकाकाले औषधि व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उपमेयर डंगोलले बताइन् ।
उपमेयर डंगोलले औषधि व्यवसायलाई विश्वास गर्ने वातावरण निर्माणमा पनि सम्बन्धित सबै पक्षले ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन् ।




















