काठमाडौं । शिवरात्रिको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा पूजा अर्चना गर्नुभएको छ ।
नेपालका राष्ट्राध्यक्षले शिवरात्रिका दिन आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलन छ । सोही अनुसार उहाँले पशुपतिनाथको दर्शनसँगै पूजा अर्चना गर्नुभएको हो ।
महाशिवरात्रिका अवसरमा आज लाखौं भक्तजनले पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका छन् ।
बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको थियो । भक्तजनको सहजताका लागि पशुपतिनाथका चारैढोका बिहान २ बजेदेखि खोलिएको थियो ।

दर्शन गर्ने पालो छिटो पाउने आशमा दर्शनार्थी रातिदेखि नै लामबद्ध भएर बसेका थिए ।
शिवभक्तहरुले शिवरात्रिका दिन व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दुध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएर पूजा गर्ने गर्दछन् ।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।
फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

आज देशभरका शिवालय, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, हलेसी महादेव, कुशेश्वर महादेव लगायतका शिवालयमा भक्तजनहरुले उपस्थिति रहेको थियो ।




















