धनगढी । सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ । संघमा एमालेसहितको नयाँ गठबन्धनमा सामेल हुँदै प्रचण्ड सरकारमा सहभागी भएको समाजवादीबाट आर्थिक मामिलामन्त्री रहेका नरेशकुमार शाहीले राजीनामा दिएका छन् ।
संघमा नयाँ गठवन्धन बनेसँगै मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीका मन्त्रीलाई वर्खास्त गरेका थिए भने नेकपा एसका मन्त्रीले मुख्यमन्त्रीलाई भेटेर समीकरण फेरिएका कारण पदमा बसिरहन नसक्ने जानकारी गराएका छन् ।
शाहीको उक्त जानकारीपछि मुख्यमन्त्री शाहले उनले सम्हालिरहेको मन्त्रालय आफैसँग राखेका छन् । चार जना प्रदेश सभा सदस्य रहेको एकीकृत समाजवादीले संसदीय दलको बैठकबाट आजै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गर्ने जनाएको छ ।
माओवादी केन्द्रले यसअघि बुधबार नै प्रदेश सरकारलाई दिएको समर्थन लिएको थियो । यसले गर्दा कांग्रेस नेतृत्वको सरकार अल्पमतमा पर्ने भएको हो ।
सरकार जोगाउन २७ जनाको समर्थन चाहिन्छ । तर शाहलाई नेपाली कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ गरेर २५ जना प्रदेशसभा सदस्यको मात्र समर्थन छ ।