कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग गठबन्धन गर्न पुगेका पुष्पकमल दाहाल प्रचण्डलाई तनाव भएको छ । तनावको मुख्य कारण हो अर्थ मन्त्रालय र गृहमन्त्रालय । नयाँ गठबन्धन बनाएर अर्थ मन्त्रालय र गृहमन्त्रालय लिने दाउमा रहेका प्रचण्ड अहिले अर्थ र गृह दुवै मन्त्रालय फुत्किएका कि भन्ने चिन्ताले पिरोलिकएका छन् ।
प्रचण्डले शेरबहादुर देउवासँगको गठबन्धन किन तोड्नुको मुख्य कारण हो– प्रकाशशरण महतलाई हटाएर आफ्नो दलबाट अर्थमन्त्री बनाउन खोज्नु । यो कदम उठाउन खोज्दा शेरबहादुर देउवाले मानेनन् ।
काङ्ग्रेससँगको सम्बन्ध टुटाएर एमाले, रास्वपा र जसपासँग गठबन्धन जोडेका प्रचण्ड नयाँ गठबन्धन बनेको पहिलो रातदेखि नै नयाँ तनावमा फसेका छन् । आवेशमा आएर एमालेसँग गठबन्धन बनाए पनि महत्वपूर्ण मन्त्रालय कसले लिने भन्ने टुंगो लागेको छैन ।
नेपाली कांग्रेसले समर्थन फिर्ता लिइसकेको छ । यस्तै हो भने एक महिनाभित्र प्रचण्डलाई विश्वासको मत लिनसमेत हम्मेहम्मे पर्ने स्थिति देखा परेको छ ।
एमाले र माओवादीबीच गठबन्धन बने पनि महत्वपूर्ण मन्त्रालयको समेत भागबन्डा मिलेको छैन । भागबन्डा नमिल्दा सोमबार तीनजनालाई विना विभागीय मन्त्री बनाइए पनि मंगलबार सर्वदलीय बैठकले टुंगो लगाउने भनिएको मन्त्रालयको भागबन्डा मिल्न सकेको छैन । तनावको अवस्थालाई टार्नका लागि प्रचण्ड माधव नेपाललाई फकाउन कोटेश्वरतिर लागे ।
उता एमाले वर्षमान पुनलाई अर्थमन्त्री मान्न तयार छैन । पुनले विगतमा एमाले–माओवादी गठबन्धन टुटाएर कांग्रेससँग गठबन्धन कसेको एमालेको ठम्याइ छ । साथै सुनकाण्डका आरोपीसँग पुनको उसबस रहेको आरोप छ । त्यसैले पुनलाई अर्थमन्त्री बनाउन नहुने एमालेको अडान छ । अर्थमन्त्रालय जस्तो महत्वपूर्ण जिम्मेवारी एमालेले पाउनुपर्ने एमालेले अडान छोडेको छैन ।
प्रधानमन्त्री प्रचण्ड भने अर्थ मन्त्रालय आफूले राख्न नपाएर कांग्रेसबाट बिच्किएका हुन् । पार्टीभित्रको सन्तुलन मिलाउनका लागि पनि प्रचण्डले वर्षमानलाई अर्थमन्त्री बनाउन चाहेका छन् ।
तर, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आफू अर्थ र गृहमध्ये एउटा नछाड्ने पक्षमा छन् । यो अवस्थामा गृह र अर्थमन्त्रालय लिने विषयमै एमाले र माओवादीबीच रडाको पर्नसक्ने देखिएको छ ।
यसैगरी गृहमन्त्रालय नपाएर सरकारलाई समर्थन नगर्ने अडानमा रास्वपा सभापति रवि लामिछाने छन् । रविलाई साथमा नलिने हो भने प्रचण्ड सरकार ढल्न सक्ने जोखिम उत्तिकै बलियो छ । तर, रविलाई गृहमन्त्री नबनाउन एमाले र माओवादी दुबै दलभित्र चर्को दबाब छ । रविलाई भने सरकारमै नजान र प्रतिपक्षमै बस्न पार्टी कार्यकर्ताले दबाब दिइरहेका छन् ।
यसैगरी कांग्रेसले प्रचण्डसँग बदला लिन रवि लामिछानेलाई प्रधानमन्त्री बन्न अफर दिएको छ ।
अर्थ र गृह मन्त्रालयमा एमाले, माओवादी र रास्वपाको त्रिकोणात्मक द्वन्द्वका कारण नयाँ गठबन्धन सरकारले पूर्णता नै नपाई ढल्ने पो हो कि भन्ने जोखिम बढेको छ ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो कुर्सी जोगाउन एमालेलाई अर्थ र रास्वपालाई गृहमन्त्रालय दिनै पर्ने अवस्था नआउला भन्न सकिँदैन । त्यसो हो भने कांग्रेससँग गठबन्धन टुटाएर माओवादीलाई के फाइदा भयो भन्ने प्रश्न उठ्ने छ । त्यसबेला राष्ट्रियसभा अध्यक्षमा झक्कु सुवेदीलाई पठाउने कुरालाई माओवादीले उपलब्धि मानेर बस्नुपर्ने हुन्छ । त्यसले गर्दा प्रचण्ड अहिले बडो तनावको स्थितिबाट गुज्ररहेको अनुमान सहजै गर्न सकिन्छ ।