धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पनि माओवादीबाट सरकारमा सहभागी दुईजना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माललाई मुख्यमन्त्री शाहले मंगलाबार बर्खास्त गरेका हुन् ।
सुदूरपश्चिम सरकारमा नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका मन्त्री यथावत छन् । उनीहरुले नयाँ गठबन्धनमा सामेल हुने आधिकारिक निर्णय गरेका छैनन् । यी दुई दलले साथ दिएसम्म कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार टिक्ने छ ।
५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छन् । सुदूरपश्चिममा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११ (सभामुख), एमालेका १०, उन्मुक्तिका ७, नेकपा (एकीकृत समाजवादी)का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् ।