जनकपुरधाम । जनकपुरमा स्कूल बसले ठक्करबाट एक महिलाको मृत्यु र ६ जना घाइते भएपछि अवस्था तनावग्रस्त बनेको छ ।
जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा एञ्जल्स बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा ३५ वर्षीया राखीदेवी यादवको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते छन् ।
स्थानीयले ठक्कर दिने बस जलाउने प्रयास गरेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको छ । स्थानीयले प्रहरीमाथि नै ढुंगामुढा गरेका छन् भने प्रहरीले करिब आधा दर्जन अश्रुग्यास प्रहार गरेको छ ।
स्थानीयले जनकपुर–जलेश्वर सडक अवरुद्ध पारेका छन् । सडकमा टायर बालेर प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन् भने सडकमा विजुली पोल तेर्साएर सडक अवरुद्ध पारेका छन् ।
प्रहरीले सडक खुलाउने प्रयासमा प्रहरीले गरिरहेको छ ।




















